सूचनाहरु
दंगीशरणका पर्यटकीय स्थलहरु
दंगीशरण गाउँपालिकाले थारू राजा दंगीशरणलाई पर्यापर्यटनसँग जोडेर योजना बनाएको छ । गाउँपालिकाले प्रदेश ५ सरकारको सहयोगमा दुई करोड रुपैयाँको लागतमा दंगीशरण–३ स्थित रानीवनमा दंगीशरण कल्चरल थारू भिलेज तथा पार्क र ६५ लाखको लागतमा दंगीशरण–३, चखौरामा थारू संग्रहालय स्थापना गरिरहेको छ ।
दंगीशरणलाई पर्यापर्यटनसँग जोडेर थारू संस्कृति र संस्कारमा आधारित संग्रहालय स्थापनालाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उनले थारू भाषा, वेषभूषा, कला, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज र खानपिन तथा थारू राजा दंगीशरणको ऐतिहासिकता झल्काउने गरी संरचना निर्माण भइरहेको बताए । ‘देशीविदेशी पर्यटकलाई आकर्षण गर्न दंगीशरण राजाको ऐतिहासिक पृष्ठभूमि र थारूको पौराणिक वस्तु, संस्कार र परम्परा झल्किने संरचना निर्माणमा जोड दिएका छौँ,’ उनले भने ।
थारू राजा दंगीशरणले राजकाज गरेको भनिएको सुकौराकोट दरबारसँग जोडिएको दंगीशरण राजाले खेलेका र गरेका ऐतिहासिक ठाउँलाई लक्षित गरी पर्यटकीय स्थलको विकास गरिरहेको उनले बताए । ‘दंगीशरणसँग जोडिएका धेरै पर्यटकीय स्थल हाम्रो गाउँपालिकामा छन्, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार गरी स्वदेशी र विदेशी पर्यटक भित्र्याई स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष चौधरीले भने । उनले निर्माण भएका र भइरहेका संरचनाले थारू संस्कृतिको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उपयुक्त थलो बन्ने विश्वास लिएको बताए । ‘पर्यटकका लागि घुम्ने र रमाउलो गर्ने ठाउँका रूपमा मात्र होइन, अध्ययन, अनुसन्धान गर्नेका लागिसमेत उपयुक्त ठाउँ बन्ने छ,’ उनले भने ।
दंगीशरण राजाले गर्मी छल्ने ठाउँ ‘राजाकोट’
तुल्सीपुर उपमहानगरपालिका–११, सुकौरास्थित सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । उनले राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले उनी गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ ।
सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा उनी गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको पश्चिम दाङका देशबन्ध्या गुर्वा लिलामणि चौधरीले बताए । ‘गर्मीयाममा राजा दंगीशरणले सोही टाकुरामा गएर राजकाज गर्ने भएकाले उक्त पर्वतलाई राजाकोट भनिएको किंवदन्ती छ,’ उनले भने ।
दंगीशरणले सिकार खेलेको ‘रानीवन’
राजा दंगीशरणले राज्य गर्ने क्रममा सिकार खेलेको वनलाई पनि गाउँपालिकाले पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ । उनको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गरेको किंवदन्ती रहेको दंगीशरण गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका चखौराका मटावा पूर्णबहादुर चौधरीले बताए । ‘राजकाज चलाउने क्रममा भएको थकान मेटाउन राजा दंगीशरण रानीसँग रानीवनमा सिकार खेल्न जाने गरेको किंवदन्ती छ,’ उनले भने ।
दंगीशरण गाउँपालिकाले सोही वनमा दंगीशरण कल्चरल थारू भिलेज तथा पार्क निर्माण सुरु गरेको अध्यक्ष भागीरामले बताए । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले वनभित्रको सुन्दर ठाउँ छनोट गरी चारवटा पिकनिक स्पट बनाउन सुरु गरेको छ ।
प्रदेश ५ सरकारको सहयोगमा निर्माण सुरु भएको भिलेज तथा पार्क निर्माणका लागि गुरुयोजना तयार पारी कामअगाडि बढाएको उनको भनाइ छ ।
दंगीशरणले स्नान गर्ने ‘बुल्बुल्या ताल’
दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको मटावा पूर्णबहादुरले बताए । उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने गरेको उनले बताए । उनले मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गरेको बताए ।
‘रानी जरुवा’ र ‘धनटाकुरा’
राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको पछ्ला प्रगन्नाका देशबन्ध्या गुर्वा रामशरण चौधरीले बताउने गरेका थिए । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अहिले पनि अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।
१२ जना ग्वालाले लट्ठी गाडेको ठाउँ ‘बार बर्दिया’
पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लट्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।
खेतीपातीका लागि वर्षा नभए पूजा गर्ने ठाउँ ‘बैकरह्वा’
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । ‘पूजा गर्नासाथ पानी परेको प्रशस्त उदाहरण छ,’ दंगीशरण गाउँपालिका–१, रहरपुरका अगुवा रेशमबहादुर चौधरीले भने । उनले बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेको जानकारी दिए ।
थारू महिला सती गएको ठाउँ ‘सती मन्दिर’
विक्रम सम्वत् १९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन् । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको बैवाङका भागीराम चौधरीले बताए ।
‘सती जाने वेला उनले छोरी चिन्ता नगर, तिमीबाट ज्ञानी र विद्वान् छोराको जन्म हुनेछ भन्ने आशिष दिएर सती गइन्,’ उनले भने, ‘नभन्दै उनको छोरीको कोखबाट भगवती नाम गरेका ज्ञानी र विद्वान छोराको जन्म भयो । उनीले बिरामीलाई छुनासाथ बिरामी निको हुन्थे ।’
सती मन्दिरलाई पनि दंगीशरण गाउँपालिकाले पर्यटनसँग जोड्ने भएको छ । दंगीशरण राजासँग सम्बन्धित र ऐतिहासिक तथा धार्मिक स्थललाई पर्यापर्यटनका रूपमा विकास गर्दै जाने योजना भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताइन् । ‘धार्मिक र ऐतिहासिक स्थल र दंगीशरण राजाको इतिहासलाई पर्यापर्यटनसँग जोड्ने योजना छ,’ उनले भनिन् ।
थारू संस्कृतिको सम्पूर्ण जानकारीका लागि संग्रहालय
बुल्बुल्या तालको प्रचारप्रसार गर्न र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सोही ठाउँमा थारू संग्रहालय स्थापना भएकोे छ । दंगीशरणको सालिकसहित संग्रहालयमा थारू जातिले प्रयोग गर्ने वस्तुसँगै लगाउने लुगा, गरगहना, थारू जातिका सामूहिक देवता ‘भुइँह्यार’ थान, थारू जातिको भान्साघर, घरको भित्तामा बनाउने विभिन्न थरीका चराचुरुंगी, घरपालुवा तथा जनावर भगवान, देवीदेवताको प्रतीक चिह्न बनाइएको छ । ६५ लाख लागतमा थारू संग्रहालय स्थापना गर्न लागिएको थारू संस्कृति संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरीले बताए ।
(पत्रकारद्वय विश्वराज पछलडङ्ग्या र भूपेन्द्र वलीले लेख्नुभएको यो समाचार नयाँ पत्रिका दैनिकको अनलाईन संस्करणबाट साभार गरिएको हो ।)